Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतभित्रै गोली हानी ग्याङस्टारको हत्या, प्रहरीको गोली लागेर २ हत्याराको मृत्यु

नयाँदिल्ली । भारतको दिल्लीस्थित रोहिणी अदालतभित्रै गोली हानी ग्याङस्टारको हत्या गरिएको छ। वकिलको भेषमा अदालतभित्र पसेका दुई जनाले गोली हानी ग्याङस्टार जितेन्दर गोगीको हत्या गरेका हुन्।

त्यसपछि प्रहरीको गोली लागि ती दुई बन्दुकधारीको पनि ज्यान गएको छ। अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो। घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा देखिएअनुसार गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए।

सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ। एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो। घटनामा अरु थुप्रै घाइते भएका छन्।

उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ। उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ।

गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको हत्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो। शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077