Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

संसद् अवरुद्ध नगर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह, ओली संवादबाट भागेको सत्तापक्षको दाबी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकबिना निष्कर्ष टुंगिएको छ ।

बिहीबार बिहानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता नजनाएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।

यस्तै बैठकले एमाले अध्यक्ष ओलीलाई पुन: बैठकमा बोलाउने निर्णय गरेको कानूनमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘प्रधानमन्त्रीले अर्को बैठकमा पुन : एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिने जानकारी गराउनु भयो', मन्त्री कार्कीले भने, 'बैठकमा समसामयिक विषयमा पनि छलफल भएको छ।’

प्रवक्ता कार्कीका अनुसार बैठकमा सहभागी दलहरुले एमाले वार्ता र संवादबाट भाग्न खोजेको बताउँदै संसद् अवरुद्ध नगर्न एमालेका नेताहरुलाई आग्रह समेत गरेका छन्। यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी(जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077