Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुमार पौडेल इन्काउन्टर काण्डमा तत्कालिन डिआईजी पालसहित १० जनामाथि कारबाहीको माग

    कुमार पौडेल इन्काउन्टर काण्डमा तत्कालिन डिआईजी पालसहित १० जनामाथि कारबाहीको माग

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । वि.सं.२०७६ साल असार ५ गते भएको कुमार पौडेलको ‘फेक इन्काउन्टर’ मा संलग्नताको आरोपमा तत्कालिन डिआईजी (हाल एआईजी) हरिबहादुर पालसहित १० जनामाथि कारबाहीको माग गरिएको छ ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज समेत रहेका पौडेलको गैरन्यायिक हत्या भएको भन्दै बुधबार जाहेरी दर्ता भएको छ ।



    पौडेलकी आमा दुर्गादेवीले त्यतिबेलै जाहेरी दिने प्रयास गरेको भए पनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले निरन्तर उपेक्षा गर्दैआएका थिए । तर, असोज १२ मा सर्वोच्च अदालतले एक साताभित्र जाहेरी दर्ता गरेर त्यसको जानकारी आफूलाई दिन आदेश दिएको थियो ।



    सर्वोच्चको आदेपछि आज जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको हो । प्रहरीका अनुसार दुर्गादेवीले हुलाकमार्फत् जाहेरी पठाएको र जिल्ला सरकारी वकिलको रोहबरमा सनाखत गरी दर्ता गरिएको हाे ।

    कुमार पौडेलको गैरन्यायिक हत्यामा संलग्न भएको भन्दै उनकी आमा दुर्गादेवीले दिएको जाहेरीमा सर्लाही जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, तत्कालीन डीआईजी हरिबहादुर पाल, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्की र जिल्ला अस्पताल सर्लाही मलंगवामा तत्कालीन अवस्थामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डललाई विपक्षी बनाइएको छ ।

    त्यस्तै दुर्गादेवीले आफ्ना छोरामाथि गोली प्रहार गरेको भन्दै प्रहरी प्रधान कार्यालयबाट खटिएका प्रहरी निरीक्षक कृष्णदेव साहमाथि पनि कारवाहीको माग गरेकी छन् भने पौडेलको गैरन्यायिक हत्याका लागि प्रहरी प्रधान कार्यलयबाट खटिएका प्रहरी हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साहमाथि पनि कारवाहीको माग गरिएको छ ।

    जाहेरीमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि गैरन्यायिक हत्यामा संलग्नताको आरोप लगाइएको छ । जाहेरीमा पौडेलकी आमाले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालिन आईजीपी सर्बेन्द्र खनालकै सल्लाह, योजना र तयारीमा आफ्ना छोराको हत्या भएको उल्लेख गरेकी छन् । तर, उनीहरूलाई मुद्दामा सिधै विपक्षी भने बनाइएको छैन ।

    तर, हत्याको योजना बनाएको भन्दै स्थानीय नेताहरू वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीलाई पनि कारवाही गर्न माग गरिएको छ ।

    २०७६ को असार ५ मा पौडेललाई प्रहरीले सर्लाहीको लालबन्दी–१ स्थित लखन्देही जंगल नजिक घेरा हालेर हत्या गरेको थियो । त्यसपछि प्रहरीले दोहोरो भीडन्तमा उनको मृत्यु भएको बताएको थियो ।

    राष्ट्रिय मानवअधिकार आयोगले २०७६ को कात्तिक ४ मा घटनामा प्रत्यक्ष संलगन रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह तथा सत्यनरायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो । साथै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का तयार पार्दा त्रुटिपूर्ण कार्य गरेको भन्दै सचेत गराउन भनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार