हेटौडा । बागमती प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आज प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरे लगत्तै बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको हो। बैठक स्थगितपछि मुख्यमन्त्री शाक्य अब दशैँभर पदमै रहने छिन्।
गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी शाक्यले दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी कानुनका कारण प्रदेशसभाको बैठक आह्वान गरेकी थिइन् ।
प्रदेशमा सभामुखसहित १ सय ९ सांसद छन् । जसमा हाल शाक्य नेतृत्वको एमालेका ४३ सांसद मात्र छन् । यसअघि एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा १३ जना सांसद गएपछि अल्पमतमा परेकी छिन् ।
सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनका दलबाहेक अन्य दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था छैन।