Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुरक्षा गार्डलाई गोली हानेर सिटिजन्स बैंक लुट्ने २ भारतीयसहित ३ जनालाई पक्राउ गर्न प्रहरीले पनि गोली चलायो

मोरङ । जिल्लाको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखा लुटपाट गर्ने तीन जनालाई पक्राउ गर्न प्रहरीले पनि गोली चलाएको छ ।

बैंकका सुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जनामध्ये दुई भारतीय नागरिक भएको र एक नेपाली भएको प्रहरीले जनाएको छ । ४÷५ जनाको समूहमा आएका लुटेरा समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा सुरक्षा गार्डले रोक्न खोजेपछि उनीमाथि गोली प्रहार गरेको बुझिएको छ ।

बैंक लुटेर भाग्दै गरेकामध्ये दुई भारतीयसहित तीन जनालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । नियन्त्रणमा लिने क्रममा पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका–२ का सीतल कुंवर पनि घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुंवरको घाँटीको पछाडि भागबाट गोली लागेको छ । लुटेरा समूहलाई कुंवरले रोक्न खोज्दा उनीहरुले तीन राउण्ड गोली चलाएको प्रहरीको भनाइ छ । लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे अहिले केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077