Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यी स्थानहरुमा अझै ३ दिन ठूलो पानी पर्ने

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ।

उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ। महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

कात्तिक २ गते मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

दसैँका समयमा काठमाडौँ उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दसैँको टीकाको दोस्रो दिन शनिबारदेखि काठमाडौँलगायत देशभर बदली र हल्का वर्षा भएको छ। काठमाडौँमा गएराति हल्का वर्षा भएको छ।

महाशाखाको विवरणमा काठमाडौँमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी ओखल ढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको अधिकतम ३१ दशमलव ६ र न्यूनतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077