Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्को गौर–टीकापुर घटना दोहोर्याउन जसपाले घुसपैठ गरेको सिके राउतको आरोप

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूहरुको आन्दोलनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले घुसपैठ गरी गौर–टीकापुरजस्तै घटना गराउने योजना बनाएको आरोप लगाएको छ ।

जनमत पार्टीले जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई त्यसको लागि खटाइएको अडियो प्रमाण आफूहरुसँग रहेको समेत दावी गरेको छ । उक्त अडियो टेप प्रमाणको रुपमा प्रहरीलाई बुझाइएको पार्टीका नेता दीपक साहले बताए ।

जनमत पार्टीको फेसबुकमा लेखिएको छ, ‘२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सीके राउतको कार्यक्रममा जसपाले आफ्नो २०–२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने । गौर–टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने ।’

सिके राउतको सचिवालयले यस घटनामा प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि संलग्नता रहेको आरोप लगाएको छ ।

जनकपुरमा कर्मचारीमाथि गरेको व्यवहारलाई भने सो पार्टीले ‘जनताले गरेको कारवाही’ भनेको छ । यसमा कुनै पार्टी वा व्यवसायी विशेषविरूद्ध नरहेको दावी समेत सचिवालयले गरेको छ ।

बिहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि गरेको कारवाहीमा आम जनतालगायत अन्य पार्टीहरूको पनि संलग्नता रहेको दावी सचिवालयले गरेको छ । तर जसपा र त्यसका भातृसंगठनहरूले भने लगातार जनमत पार्टीको सचिवालय र कार्यक्रमहरूमा आक्रमण गर्दै आएको आरोप जनमत पार्टीले लगाएको छ ।

यता, जसपा धनुषाका अध्यक्ष पशुपति यादवले जनमत पार्टीले लगाएको आरोपलाई निराधार भएको बताउँदै भने–‘कर्मचारी तथा जनप्रतिनिधिमाथि जुन गुण्डा शैलीमा आक्रमण गर्ने काम सिके राउतको पार्टीले गर्ने गरेको छ, त्यो आपत्तिजनक हो । यसको हामीले विरोध गरेका हौं ।’

अध्यक्ष यादवले जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहमाथि पनि सिके राउतका कार्यकर्ताहरूले जनकारवाही गर्ने योजना बनाइरहेको सूचना प्रहरीमार्फत आफूसमक्ष आएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077