Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत उडे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गरेका छन् । उनी २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली शुक्रबार बिहान १० बजे बेलायत प्रस्थान गरेको हो।

पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन्।

यस्तै, प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेका छन्।

त्यसैगरी, भ्रमण टोलीमा भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार पनि रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।




प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन् । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077