Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तालिबान सत्तामा आएपछि कसरी बदलियो अफगान नागरिकको जीवन ? भन्छन् –‘जिउँदै मरिरहेका छौं’

    तालिबान सत्तामा आएपछि कसरी बदलियो अफगान नागरिकको जीवन ? भन्छन् –‘जिउँदै मरिरहेका छौं’

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि पूरै देशको जनजीवन अस्तव्यस्त भएको छ । एक पत्रकारले हालै अफगान जनतालाई तालिबान सत्तामा आउनु अघि र पछि उनीहरूको जीवनमा आएको परिवर्तनका बारेमा सोधेका छन्। त्यसक्रममा धेरैले उनीहरूको जीवन र परिस्थितिमा ठूलो परिवर्तन भएको बताए।

    बीबीसीले केही सामाजिक कार्यकर्ता र कार्यालयका कर्मचारीहरूसँग कुरा गरेको छ। उनीहरुको कथा र तालिबानको शासनपछि आएको परिवर्तनबारे उनीहरुसँग कुरा गरिएको छ। बीबीसीले सुरक्षा र गोपनीयताका कारण आफ्ना कथाहरू सुनाउने व्यक्तिहरूको नाम परिवर्तन गरेको छ।



    अहमद : मेरो लागि जीवन झनै कठिन भएको छ



    तालिबान सत्तामा आउनुअघि अहमद सन् २०१९ देखि अफगानिस्तानको एउटा निजी कम्पनीमा प्रबन्धकको रूपमा कार्यरत थिए।

    उनले बीबीसीलाई भने, “यो मेरो लागि राम्रो समय थियो किनभने म काम गरिरहेको थिएँ र विश्वविद्यालय, विद्यालयमा पढेका दिदीबहिनीहरूको हेरचाह गर्दै थिएँ।’’

    “त्यतिबेला मैले राम्रो तलब पाएको थिएँ र यो मेरो परिवारको लागि लगभग पर्याप्त थियो। मैले पैसा बचत गरेर घर पठाइरहेको थिएँ।’’
    “मेरा धेरै साथीहरू काम गर्थे, तर सबैले जागिर गुमाए र बेरोजगार भए। अहिले मेरो लागि जीवन धेरै गाह्रो छ। विशेषगरी मेरो परिवारको लागि, किनकि कुनै जागिर छैन। परिवारको आम्दानीको स्रोत छैन। ’’

    अहमद आफ्नो परिवारका एक मात्र छोरा हुन्। ६० वर्षीय उनका बुबा उमेर र घुँडाको समस्याले काम गर्न सक्दैनन् । उनी भन्छन्, ‘बुवाको असक्षमताले गर्दा म थप जिम्मेवारी महसुस गर्छु । बढ्दो आर्थिक संकटले हाम्रो अवस्था झनै बिग्रिएको छ।’

    जाहरा : म अब जीवन बाँचिरहेको छैन

    जाहरा तालिबानले सत्तामा आउनुअघि विश्वविद्यालयमा अध्ययन गरिरहेकी थिइन्। तर तालिबान फर्किएपछि उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्।

    उनी भन्छिन्, ‘मेरो जीवनको सबैभन्दा राम्रो पल त्यो थियो, जब म मेडिकल विद्यार्थी थिएँ। विश्वविद्यालय भर्ना परीक्षामा आफूले चाहेको अंक ल्याउन मैले दुई वर्ष कडा मेहनत गरेँ। तर आज मेरो मन पीडाले टुट्यो किनभने मैले धेरै प्रयास गरेँ तर रित्तो हात फर्किनु पर्यो।’

    “म अब जीवन बाँचिरहेको छैन तर कुनै उद्देश्य बिना मात्र जीवित छु। यो मैले स्कूलमा पढ्दा वा विश्वविद्यालयमा भर्ना हुँदा सपना देखेको जीवन होइन। मलाई मेरा साथीहरूसँग पढ्न मन लाग्थ्यो र म साँच्चै मेरो कलेज दिनहरू सम्झन्छु।’’

    सानाः म चाहान्छु यो सबै क्षण एक नराम्रो सपना होस्

    साना अफगानिस्तानमा महिला अधिकारकर्मी थिइन्। उनी बताउँछिन्, “तालिबान आउनुअघि हामी हाम्रा धेरै अधिकारहरूबाट वञ्चित थियौं, तर हामी खुसी थियौं किनभने हामीसँग केही स्वतन्त्रता थियो। हामी अध्ययन गर्न, काम गर्न, साथीहरूसँग बाहिर जान, सँगै बस्न, बहस गर्न र हाँस्न सक्थ्यौं।’’

    “हामी हाम्रो अधिकारका लागि लडिरहेका थियौं र खुसी थियौं … हामी कानून परिवर्तन गर्न चाहन्थ्यौं तर अचानक सबै कुरा परिवर्तन भयो र हामी घरबाट घरबारविहीन भयौं।’’

    साना हाल इरानमा छिन् र उनीसँग जर्मनीको भिसा छ तर अहिलेसम्म उनी जर्मनी पुग्न सकेकी छैनन् ।

    साना भन्छिन्, ‘यो एउटा नराम्रो सपना होस् जुन चाँडै टुटोस् र म यो सपनाबाट ब्यूँझन पाउँ, छिट्टै घर फर्किन पाउँ। मलाई मातृभूमिबाट टाढा रहन गाह्रो छ। मैले बनाएको सबै कुरा गुमाउन मलाई गाह्रो छ। म शारीरिक रूपमा जीवित छु तर मलाई मेरो परिवार र घरको याद आएको छ। मलाई मेरा मानिसहरू, मेरो भाषा, हाम्रा प्रयासहरू याद आइरहेका छन्।’’

    “म भागेको छु तर मेरो आत्मा अफगानिस्तानमा छ र यो घाइते छ।’’

    सईदः सबै कुरा यति चाँडै सकियो

    सईद एक पत्रकार हुन् र अफगानिस्तानको सबैभन्दा ठूलो मिडिया आउटलेटहरूमध्ये एकको लागि एंकरको रूपमा काम गर्थे।

    उनले भने, “म पत्रकारको रूपमा आफ्नो पेशागत जीवनलाई सम्झन्छु। करियरको सपना देखेको थिएँ तर अहिले ती पलहरू सम्झँदा सबै भत्किएजस्तो लाग्छ।’’

    तालिबानले काबुल कब्जा गरेको दिन सईद काम गरिरहेका थिए र दिउँसोसम्म सबै कुरा पूर्ण रूपमा परिवर्तन भइसकेको थियो।

    ‘हाम्रो अफिस लगभग खाली थियो, सबै महिला कर्मचारी अफिसबाट निस्किसकेका थिए र हाम्रो प्राविधिक टोलीले लुगा बदलेर सर्वसाधारणको लुगा लगाएका थियौं।’’

    सईद हाल अमेरिकामा छन् र शरणार्थीको रूपमा शरण खोजिरहेका छन्। उनको परिवार अझै अफगानिस्तानमा बस्छ। उनी भन्छन्, “२० वर्षको प्रगति र त्यागहरू सबै चकनाचुर भयो। केही घण्टामै मेरो आशा र सपनाहरू सबै ध्वस्त भयो। सबै कुरा यति छिट्टै टुट्यो, म अझै पत्याउन सक्दिन।’’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार