Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रममन्त्री श्रेष्ठको आपत्तिजनक अभिव्यक्ति, ‘ओलीले देशै टुक्य्राउँ भन्ने मधेशीहरुलाई मन्त्री बनायो’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमाले अध्यक्ष केपी शर्मा ओली र मधेशलाई लक्षित गर्दै तुच्छ टिप्पणी गरेका छन्।

मन्त्री श्रेष्ठले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

कार्यक्रममा क्षेष्ठले, ‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२–१४ जना मन्त्री बनायो,’ भन्ने अशोभनीय टिप्पणी गरेका थिए । त्यतिमात्र नभएर ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको भन्दै मन्त्री श्रेष्ठले ओली र मधेशी समुदायमाथि आक्रोश पोखेका थिए।

श्रेष्ठले अभिव्यक्ति तुच्छ, अपाच्य र अशोभनीय भएको भन्दै यसको विरोध भइरहेको छ। एकीकृत समाजवादीले भने उनको अभिव्यक्तिबारे बुझेर यसबारे जानकारी गराउने बताएको छ।

यसो त नेपालमा पूर्वप्रधानमन्त्रीदेखि लिएर शीर्ष नेताहरुले तुच्छ अभिव्यक्ति दिएको कुरा नौलो हैन। पदीय गरिमा र नैतिक धरातल नै बिर्सिएर नेताहरु यति आक्रोशित रुपमा प्रस्तुत भइदिन्छन् कि ज्यान लिनेसम्म अभिव्यक्तिहरु छरपस्ट हुन्छ। हुन न नेपालमा मर्यादाविपरीतका अभिव्यक्तिले उनीहरुलाई अप्ठ्यारोमा पारेको उदाहरुणहरु पनि छन्।

यसअघि बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने छात्राबारे दिएको अभिव्यक्तिका कारण २०७६ मा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको थियो।

२०६८ मा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पदमुक्त गरेका थिए। अब मन्त्री श्रेष्ठको अभिव्यक्तिले कस्तो रुप लिन्छ र यसमा सत्ता गठबन्धन र उनको पार्टी एकीकृत समाजवादीले कस्तो निर्णय लिन्छ त्यो प्रतिक्षाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077