एजेन्सी । फ्रान्सकी एक महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन् ।
स्थानीय सञ्चारमाध्यमसँग उनले यस्तो जानकारी गराए लगत्तै सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको उक्त बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेका छन्।
बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ पनि सहभागी भएका थिए।
ती महिला सैनिकका अनुसार आरोपित व्यक्ति पनि सैनिक हुन्। यस विषयमा उनीसँग सोधपुछ गरिएको छ। तर, हालसम्म उनीविरुद्ध कुनै अभियोग लगाइएको छैन।
लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको थियो। पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए।
राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचारसंस्थासँग भने–‘अधिकारीहरूलाई आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालियो।’ अहिले ती दुवै जनालाई अन्यत्र सरुवा गरिएको छ।
के भएको थियो ?
प्यारिसस्थित बीबीसी संवाददाता ह्यू शोफील्डका अनुसार गत जुलाई १ को साँझ राष्ट्रपति माक्रोँको व्यक्तिगत सुरक्षामा खटेका एक वरिष्ठ सैन्य अधिकारीलाई बिदा गर्न एलीजी दरबारमा उक्त भोज आयोजना गरिएको थियो।
राष्ट्रपति छोटो मन्तव्य राखेर निस्किए। तर, पछि मदिरापानको कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रममा एक पुरुष सहकर्मीले आफूसँग यौनिक दुर्व्यवहार गरेको ती महिला सैनिकको दाबी छ।
घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिइन्। त्यसको केही समयपछि घटनाबारे आपराधिक अनुसन्धान सुरु भयो।
कथित पीडकलाई ‘सहायताप्राप्त साक्षी’को रूपमा राखिएको थियो। त्यसको अर्थ उनी अभियोग लाग्नुभन्दा एक चरणअघि छन्।
फ्रान्सको समाजमा यौन दुर्व्यवहारका धेरै घटनाहरू बढ्दो रूपमा बाहिर आइरहेपछि राष्ट्रपति माक्रोँले महिलाविरुद्ध हुने हिंसाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। अहिले फ्रान्समा सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष उमेर भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ। – बीबीसी