Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कतार एयरवेजमाथि अस्ट्रेलियाली महिलाको मुद्धा, विमानस्थलमा सबै कपडा खोल्न लगाइएको आरोप

एजेन्सी । दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्।

हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई सन् २०२० को अक्टोबरमा एउटा उडानबाट ओरालेर उनीहरूले हालसालै बच्चा जन्माएको छ कि भनी परीक्षण गरिएको थियो।

उनीहरूले आफ्नो अनुभवलाई राज्य स्वीकृत आक्रमण भनेका थिए र त्यसको सर्वत्र विरोध भएको थियो। कतारले पछि माफी माग्दै विमानस्थलका एक अधिकारीलाई निलम्बित जेल सजाय दिएको थियो।

तर, ती महिलाहरूले त्यसपछि त्यो घटनालाई बेवास्ता गरिएको बताएका छन्।

उनीहरूलाई सशस्त्र सुरक्षाकर्मीले कतार एअरवेजको विमानबाट ‌ओरालेर एम्बुलेन्समा हालेका थिए। एम्बुलेन्समा नर्सहरूले उनीहरूलाई वस्त्र फुकाल्न लगाएर निरीक्षण गरेका थिए।

महिलाहरूले आफूहरूले त्यसो गर्न स्वीकृति नदिएको र किन त्यसो गरिँदै छ भनेर आफूलाई नभनिएको बताएका छन्। नाम नबताउने एक महिलाले बीबीसीलाई आफूमाथि 'सबैभन्दा भयानक शारीरिक परीक्षण' गरिएको बताएकी थिइन्।

'बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले मलाई मार्लान् जस्तो लागेको थियो वा विमानमा रहेका मेरा पतिलाई पनि मार्छन् जस्तो लागेको थियो,' आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले भनिन्।

पाँच मिनेट जतिको परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको थियो। अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए।

त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानीले ट्वीट गर्दै माफ मागेका थिए: 'महिला यात्रुमाथिको अस्वीकार्य व्यवहारका लागि हामी माफी माग्छौँ… जे भयो त्यसले कतारको कानुन वा मूल्यमान्यता दर्साउँदैन।'

कतारले आपराधिक छानबिन गरेको थियो जसको कारण एक अधिकारीलाई निलम्बित जेल सजाय दिइएको थियो। तर, तीमध्ये सात महिलाका वकिल डामियन स्टुर्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्।

ती महिलाहरूले कतारबाट औपचारिक माफीका साथै त्यस्तो घटना फेरि नहोस् भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको उनले बताए। ती महिलाहरूले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एअरवेजसँग आक्रमण, अनधिकृत घुसपैठ र झूटो जेल सजायको क्षतिपूर्ति समेत मागेका छन्।

सो घटनाका कारण मानसिक समस्या भोगिरहेकी एक महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मुद्दामा जान लागेको बताइन्। 'यो कुरा उठाएर हामी अन्य महिलाले हामीजस्तो भयानक र दुखद व्यवहार भोग्न नपरोस् भन्ने निश्चित गर्न चाहन्छौँ,' उनले भनिन्।

सन् २०२२ को विश्वकप फुटबल आयोजन गर्दा कतारमा हजारौँ विदेशी यात्रु आउने अपेक्षा गरिएको छ। बीबीसीले यस विषयमा प्रतिक्रिया मागेको भए पनि कतार एअरवेज र क्यानबेरास्थित कतारी राजदूतावासले केही बोलेको छैन। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077