Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने

    एमाले अध्यक्ष ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् ।

    ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए = । सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।



    महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्ररूपमा अगाडि बढाइरहेको उनले बताए । महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको उनले बताए ।



    जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन्।

    नेकपा एमालेको महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।

    महाधिवेशनमा व्यापकरूपमा जनसहभागिता गराउँदै उद्घाटनस्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको भुर्तेलले बताए । महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताए ।

    चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने भन्दै भुर्तेलले केन्द्रीय बसपार्क, बागिश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको बताए ।

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार