Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तीन वर्षसम्म शुरु भएन कलंकी–चाबहिल चक्रपथको काम, चिनियाँ टोली नआउँदा समस्या

काठमाडौं । चीनको अनुदान सहयोगमा विस्तार हुन लागेको कलंकी–चाबहिल ११.६ किमि सडकको काम अलपत्र बनेको छ । चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाउँदा काम रोकिएको हो।

चक्रपथ विस्तार सुरु गरेको तीन वर्ष पुगिसकेको छ । तर, अझै सडकको काम भने शुरु पनि हुन सकेको छैन । नेपाल सरकारका तर्फबाट अघि बढाउनुपर्ने काम भने सबै भइसकेको तर, चिनियाँ टोलीले प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाएको र आएर काम सुरु नगर्दा थप अन्योल उत्पन्न भएको चक्रपथ विस्तार आयोजनाका प्रमुख कुवेर नेपाली बताउँछन् ।

नेपालीका अनुसार एक महिनाअघि चिनियाँ टोलीले साइट क्लियर छ÷छैन भनेर सोधेको र आयोजनाले सबैतिर क्लियर छ भन्ने जवाफ पठाइसकेको छ । तर, चिनियाँ टोली भने अझै आएको छ ।

महाराजगन्ज र स्वयम्भूमा भने समस्या देखिएको छ । महाराजगन्जमा मुआब्जा बढी तिर्नुपर्ने र स्वयम्भुमा स्तूप भत्काउनुपर्ने अवस्था आएपछि समस्या देखिएको हो ।

तर, यी दुबै ठाउँलाई कार्यक्षेत्रबाट हटाएर काम अघि बढाउने र पछि त्यहाँ नेपाल सरकार आफैले काम गर्ने जानकारी पनि चिनियाँ टोलीलाई पुगिसकेको छ । ती बाहेक रूख काट्ने, पर्खाल हटाउने, खानेपानीको पाइप व्यवस्थापनलगायत सबै काम सकिएको सडक विभागले जनाएको छ ।

चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यसपटक चिनियाँ टोलीले क्लियर भएपछि मात्रै आउने भन्दै अडान लिएको हो ।

साइटमा समस्या नरहेको जनाउँदै चिनियाँ दूतावासमार्फत टोलीलाई पत्राचार भइसकेकाले टोली आए ठेक्का जाने गरी डिटेल डिजाइनको काम अघि बढ्नेछ । तर, अझैसम्म पनि चिनियाँ टोली नआउँदा काम अगाडि बढ्न सकेको छैन ।

कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको सडक विस्तार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077