Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा ओली झनै शक्तिशाली : बफादारहरु वरिपरि, ‘विद्रोही’ भित्तामा

काठमाडौं । चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ।

वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ।

एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्। लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन्।

उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन्। ओली स्वयं विरोधीप्रति कठोर हुन्छन्। शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन्।

एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो। अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्। उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन्।

ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए। त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे। अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन्।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो। तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए।

एमाले–माओवादी एकीकरणपछि बनेको नेकपा कालमा महासचिव बनेका र अहिलेको महाधिवेशनमा महासचिवको स्वाभाविक दावेदार रहेका विष्णु पौडेललाई उपाध्यक्षमा थन्क्याएर पोखरेल महासचिव बने। नवौं महाधिवेशनबाट महासचिव बनेका ईश्वरलाई हटाएर ओलीले नेकपामा पौडेललाई महासचिव बनाएका थिए।

यसबाट चिढिएका ईश्वरसहितको एउटा समूहले पौडेललाई महासचिव हुन दिएन। चितवनमा पुग्दासम्म पौडेल महासचिवको बलियो दाबेदार थिए। तर राष्ट्रपति विद्यादेवी भण्डारीको समेत जोडबल रहेपछि पौडेल उपाध्यक्षमा रहनुपर्ने बाध्यता आयो।

मतदान हुँदाको अवस्थामा दुवै पोखरेलका लागि प्रतिकूल बन्न सक्ने बुझेपछि उनीहरूलाई जसरी पनि सर्वसम्मत बनाउन ओलीले निरन्तर कोसिस गरिरहे। पौडेल पार्टी मिलाउने र पार्टीलाई एकताबद्ध बनाउने सवालमा निरन्तर समन्वय गर्ने नेताको रूपमा परिचित छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077