Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साथीको ‘बर्थ डे’ मनाउन होटल गएका युवकको हत्या, सञ्चालकसहित १२ जना पक्राउ

दाङ । आफ्नो साथीको जन्मोत्सव (‘बर्थ डे’) मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्युपछि उनका १२ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा पुगेका थिए।

पक्राउ परेका युवाहरुले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन्।

जन्मदिन मनाउन दिउँसो पुगेको बेला सो घटना हुँदा पनि होटल सञ्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल सञ्चालकलाई पनि समातेको एसपी काफ्लेले बताए।

प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो । मृत्यु शंकास्पद लागेकोले पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको एसपी काफ्लेको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077