विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी गरेका छन्।
सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नामको पार्टी केपी ओलीको निजी कम्पनी भएको बताए ।
'एमाले केपी ओलीको निजी कम्पनी जस्तै हो, त्यहाँ उनको नियम लागु हुन्छ', अध्यक्ष नेपालले सम्बोधनका क्रममा भने, 'महाधिवेशनको नाममा मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिइयो।'
यस्तै, अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले एमालेलाई राप्रपा र लोकतान्त्रिक समाजवादीसँग एकता गराउने बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले महाधिवेशनमा कम्युनिष्ट पार्टीको झण्डा गैंडाले बोकेकोमा पनि टिप्पणी गरे। उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिएर गैंडालाई थमाइएको बताए ।
‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए,' नेपालले भने, 'अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’