विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेभित्र रहेका १० जना नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताएका छन्।
सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।
नयाँ पार्टी निर्माण गर्ने अन्तिम समयमा आफूलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्यलगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे ।
यस्तै,अध्यक्ष नेपालले एमाले महाधिवेशनमा कम्युनिष्ट पार्टीको झण्डा गैंडाले बोकेकोमा पनि टिप्पणी गरे । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिएर गैंडालाई थमाइएको बताए । ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए,' नेपालले भने, 'अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’
एमाले नामको पार्टी ओलीको निजी कम्पनी भएको र उनले पार्टीलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको नेपालको आरोप छ।