Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साढे ३३ किलो सुनका लगानीकर्ता अग्रवाल ३ लाख धरौटीमा छुटे

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएको भनिएको साढे ३३ किलो सुनका लगानीकर्ता एमके मामा भनिने मोहनकुमार अग्रवाल तीन लाख धरौटीमा छुटेका छन् ।

मोरङ उर्लाबारीका सनम शाक्यको हत्या एवम् सुन तस्करी मुद्दामा मुछिएका अग्रवाललाई आज जिल्ला अदालत मोरङले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

सुनसरीको धरान उपमहानगरपालिका–३ का ५७ वर्षीय अग्रवाल सोमबार नै आफ्ना कानुन व्यवसायीको साथ लागेर अदालत उपस्थित भएका थिए। उनलाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा चलिरहेको छ।

सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले असोज १९ गते गरेको थियो। पक्राउ परेका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश लम्सालकै इजलासले मुद्दाको फैसला गरेको हो।

अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको हो।

२०७४ साल माघ ९ गते दुबईबाट काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको थियो।

२०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो। उक्त सुनका लगानीकर्ता रहेको अनुसन्धानबाट खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077