काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।
नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा एमसीसीविरुद्ब नाराबाजीमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
आजदेखि बोलाइएको संसद अधिवेशनका मुख्य एजेण्डामध्ये एमसीसी पनि एक हो । त्यसैले आज प्रदर्शन भएको थियो ।
आजको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच संसदमा अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् ।
त्यस्तै, बडुले रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गरेका हुन्।
संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।
अब अर्को बैठक पुस ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।