सप्तरी। हातहातमा लाठी बोकेर बजार तथा यातायात बन्द गर्ने क्रममा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका १४ जना कार्यकर्तालाई प्रहरीले सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका थिए ।
जनमत पार्टीका जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह, कोषाध्यक्ष शम्भुकुमार साह, हनुमाननगर कंकालिनी–१ का संयोजक सुरेन्द्र मण्डल, सुशीलाकुमारी यादव, पंकजकुमार सिन्हा, रामकृष्ण मण्डल, प्रदीपकुमार मण्डल, चन्देश्वर मण्डल, रूपेशकुमार यादव, योगेन्द्र साहसहित १४ जना पक्राउ परेको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।