Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मन्दिरबाट ऐतिहासिक मूर्ति चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । ललितपुर जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान, पाटी–पौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्तिहरू चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ तल्लोकोट घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसी बस्ने २३ वर्षीय नेशनल योञ्जन र ललितपुरको ललितपुर महानगरपालिका–२० न:टोल बस्ने ४५ वर्षीय सानुलाल महर्जन छन्।

प्रहरीका अनुसार योञ्जनले पुस १५ गते ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलमा रहेको पञ्चयिन मन्दिरबाट ढुंगामा कुदिएको बुद्धको मूर्ति चोरेका थिए।

मूर्ति चोरीको घटनाको अनुसन्धानको क्रममा प्रहरीले पुस १७ गते मूर्तिसहित योञ्जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। योञ्जनले चोरी गरेको मूर्ति खरिद गर्ने क्रममा महर्जनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका महर्जनको साथबाट ललितपुर महानगरपालिका–११ कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर अगाडि रहेको मिसाहिटीको ढुंगेधारा माथि रहेको नारायणको मुर्ति १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077