काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाका प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचार–प्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थित रुपमा परीक्षा भइरहेको आयोगले दाबी गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ ।
केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
साथै आयोगले भोलि माघ १० गतेको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी दिएको छ ।
