Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजश्व अनुसन्धान विभागद्वारा ३७ करोड बढी विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले मंगलबार एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा चार जनाविरूद्ध सोमबार मुद्दा दायर गरेको हो ।

विभागका अनुसार एक महिनाअघि विभागले कैलालीको लम्कीचुहा नगरपालिका-१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी केटी साथी अनिता धिताललाई पक्राउ गरेको थियो।

उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ-स्क्रिल तथा बाइनान्स प्रयोग गरेको खुलेको विभागको दाबी छ। ‘उनीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू, बरामद मोबाइलका डाटा, कल डिटेलका प्रमाणबाट दिनेश खड्का लगायतले सामूहिक रूपमा मिलेमतो गरी मोबाइल एप इ-स्क्रिल तथा बाइनान्सको प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको खुलेको हो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विभागको अनुसन्धानमा खुलेअनुसार दिनेशले इ-स्क्रिल तथा बाइनान्समार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर साट्ने गर्थे । उनले ग्लोबल बैंकको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँको कारोबार गरेको खुलेको विभागले जानकारी दिएको छ।

यस्तै, अनिताको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवतीको एनआइसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आइएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँको कारोबार गरेको खुलेको हो।

उनीहरूले जम्मा ३७ करोड ६४ लाख ११ हजार एक सय बराबरको कारोबार गरेको अनुसन्धानबाट देखिएको विभागको भनाइ छ। विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐनको उपदफा (१) र दफा १२ बमोजिम बिगो जफत गरी तीन वर्षसम्मको कैद सजायको मागदाबी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077