Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी पास गर्न प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई अमेरिकी विदेश मन्त्रीको ‘धम्कीपूर्ण’ फोन

काठमाडौं । नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने संकेत देखिएपछि अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्रीसहित शीर्ष दुई दलका अध्यक्षहरुलाई फोन गरेर पास गराउन चेतावनी दिएका छन् ।

विदेशमन्त्री लूले आज प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको उच्च स्रोतले जनाएको छ ।

फोनमा विदेशमन्त्री लूले एमसीसी बारे तत्काल निर्णय लिन आग्रह गर्दै एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने भन्दै चेतावनी दिएको बालकोट स्रोतको दावी छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रयास गरेपनि सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन । त्यसैले पनि देउवाले यतिबेला एमाले अध्यक्ष ओलीको साथ खोजिरहेका छन् ।

प्रमुख विपक्षी नेकपा एमालेको सहयोग खोजेका देउवालाई ओलीले भने संसदमा टेबल भएर सत्तारुढ गठबन्धनको धारणा नआएसम्म नबोल्ने जनाएका छन् ।

[insert page='114586' display='yopanipadhnuhos.php']

एमसीसीले ६ फेब्रुअरी (२३ माघ) मा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर २८ फेब्रुअरी (१६ फागुन) सम्ममा निर्णय लिइसक्न म्याद दिएको छ । एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।

देउवा र प्रचण्डले भने १३ असोजमा एमसीसी अनुमोदनका लागि वातावरण बनाउन ४/५ महिना समय आवश्यक रहेको भन्दै एमसीसीलाई पत्र पठाएका थिए । तर, सत्तारुढ गठबन्धनमै एमसीसीबारे साझा धारणा बन्न नसकेको अहिलेको अवस्थामा अमेरिकी विदेशमन्त्री लूको फोन आएको हो ।

फोनमा सहायक विदेशमन्त्री लूले एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने भन्दै छिट्टै निर्णय लिन आग्रह गरेका छन् । उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका हुन् ।

एमसीसीबारे दलहरुबीच सहमति नजुटेकै कारण प्रतिनिधिसभाको बैठक पनि पटक–पटक सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक फागुन २ गतेका लागि बोलाइएको संसद बैठक पनि अहिलेसम्म अनिश्चित नै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077