Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी–२० सिरिजको ओमनसँगको पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा भने युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए । राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाउँदै सुखद संकेत देखाए ।

नियमित ओपनर कुशल भुर्तेललाई लगातार दोस्रो खेलमा आराम दिँदा नेपालले शनिबार ओपनिङ जोडीमा परिवर्तन गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेखलाई ल्याएको थियो ।

पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि भने नेपालको रन गति कम भयो । ज्ञानेन्द्र १९ बलमा २२ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा दशौँ ओभरमा आउट भएका आसिफले २९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे ।

शुक्रबार ओमानविरुद्धको खेलमा अविजित ७३ रन बनाएर नेपाललाई जिताएका दीपेन्द्रले शनिबारको खेलमा ३३ बल खेल्दै ५ चौका मद्दतमा ४१ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरुप खेलिएको चार देशीय सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । अब नेपालले यो सिरिजको अन्तिम खेल सोमबार आयरल्याण्डसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077