Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘मूर्ति चोर’ लाई मन्त्री बनाइएको भन्दै हटाउन माग गर्दै उच्च अदालतमा रिट

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी बिनिता बोगटीले कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट दायर गरेकी छन् ।

हुम्ला ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको विषयमा फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेको जनाएकी छन् ।

रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको अवस्थामा प्रदेशसभा निर्वाचन ऐनविपरीत प्रदेशसभा सदस्यको उम्मेदवार हुन अयोग्य व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरिनु कानुनी राज्यको उपहास भएको उल्लेख छ ।

बोगटीले प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको सोमबार रिट दायर गरेकी हुन् । उनले लामालाई मन्त्री बनाउनु संविधान विपरीत भएको भन्दै हटाउन माग गरेकी छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो पटक माघ २३ गते पाँच मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै यसअघि उच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालले कारण देखाउन आदेश जारी गरेको छ ।

हुम्ला ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा लामालाई अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

नेकपा माओवादी केन्द्रको सिफारिसमा हुम्लाका गैरसांसद लामा कर्णाली प्रदेश सरकारको मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077