Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी बहस: गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा साझा धारणा बनाउने विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बालुवाटार स्रोतका अनुसार आजको बैठक पनि आन्तरिक गृह कार्य गरेर बैठक पुन : ८ गते बस्नेगरी सकिएको हो।

शुक्रबार बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।

बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेको हो। एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ।

यसअघि बिहान सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए । हिजो बसेको गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेका थिए।

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि आजको संसद बैठकमा एमसीसी टेबुल हुने सम्भावना कम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077