Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न, एक युवक पासपोर्ट र टिकटबिनै कसरी पुगे जहाजको ढोकामा ?

काठमाडौं । गत सोमबार (९ फागुन) राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिए ।

शंकाकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागे । तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र । उनी थिए, रौतहट घर भएका १८ वर्षीय हस्पम आलम ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर उनी कसरी विमानको बिजनेस क्लास सम्म पुगे ? सो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

यसबारे प्रतिक्रिया दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकाल उनी आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको बताए । विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको ढकालको भनाइ छ ।

तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले कुनै पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए ।

अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।

तर, यसपटक आलममाथि विस्तृत अनुसन्धान हुने एसएसपी ढकालले बताए । उनका अनुसार आलमको गाउँमा नै पुगेर उनको पृष्ठभूमिबारे अनुसन्धान हुनेछ ।आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077