महोत्तरी । उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरी जोखिममा परेको छ ।
खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएका हुन् ।
मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला–ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो ।
तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ ।
वर्षायाम लाग्नुभन्दा तीन-चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् ।