Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विद्यालयको भवन र सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अर्घाखाँचीमा विद्यालयको भवन र सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शितगंगा नगरपालिकास्थित-३ ज्योति बहुमुखी क्याम्पसको भवन कागजमा निर्माण सम्पन्‍न भएको देखाएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।

साविक ठाडा गाउँ विकास समिति र जिल्ला विकास समितिको कार्यालयबाट क्याम्पसको भवन तथा सडक निर्माणको लागि रकम विनियोजन गरिएको थियो। तर, विनियोजित रकममा भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्‍न प्रतिवेदन तयार गरी अनियमितता गरेको भन्‍ने उजुरीका आधारमा अनुसन्धान गर्दा दुई लाख ७७ हजार पाँच सय ५१ रुपैयाँ भ्रष्टाचार गरेको देखिएको आयोगले जनाएको छ।

क्याम्पसको भवन निर्माणको लागि उपभोक्ता समूहबाट खर्च व्यहोर्ने गरी क्याम्पस भवन निर्माण गर्न सम्झौता गरी लागत अनुमान स्वीकृत भएर कार्यसम्पन्‍न प्रतिवेदन तयार गरी साविक ठाडा गाउँ विकास समिति, अर्घाखाँचीबाट भुक्तानीसमेत भए पनि भवन निर्माण कार्य अधुरो रहेको, संरचना उपयोग हुने अवस्थामा नरहेको र निर्माण कार्यको औचित्यसमेत नदेखिएको आयोगले जनाएको छ।

उक्त कार्यमा संलग्‍न तत्कालीन गाविस सचिव हिम बहादुर भाट र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर तिल बहादुर रानाले फिल्डमा नभए नगरेको काम नापी किताबमा मूल्यांकन किताबमा चढाएको पाइएको छ।

'हिनामिना भएको रकम दुई लाख ७७ हजार ५५१ रुपैयाँ प्रतिवादीहरु तत्कालीन गाविस सचिव हिम बहादुर भाट र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर तिल बहादुर रानाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम तथा प्रतिवादीहरु उपभोक्ता समितिका तत्कालीन अध्यक्ष राम प्रसाद बेल्बासे, उपाध्यक्ष यमेन्द्र पौडेल र सचिव माधव प्रसाद श्रेष्ठबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम जफत तथा असुलउपर गरी ज्योती बहुमुखी क्याम्पस अर्घाखाँचीलाई दिलाई भराई दिने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077