Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

चुनावको बेला नेपाल र भारतबीच सीमामा आवागमन बन्द गर्ने सहमति

सुदूरपश्चिम । आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा आज भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमति भएको छ ।

अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गरी सीमा सुरक्षा चुस्त बनाउने सहमति भएको नेपालको तर्फबाट बैठकको नेतृत्व गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

“खुला सीमानाकाबाट भइरहेको अपराध न्यूनीकरण र चुनावको दिनभन्दा ४८ घण्टा अघिदेखि सीमा बन्द गर्ने सहमति भएको छ”, प्रमुख जिल्ला अधिकारी थापाले भने, “त्यसमा अत्यावश्यक सेवाका लागि भने आउजाउ गर्न पाइनेछ ।”

लखिमपुर (खिरी) जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार सिंहले नेपालमा हुन लागेको स्थानीय चुनावलाई निष्पक्ष र पारदर्शी बनाउन आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको बैठकपछि सञ्चारकर्मीलाई बताए ।

बैठकमा अवैध चोरी, तस्करी रोकथाम, अवाञ्छित र आपराधिक गतिविधि हुन नदिनका लागि दुवै पक्षको प्रहरी गस्ती गर्ने, दशगजा अतिक्रमण रोकथाम गर्ने, वन र वन्यजन्तुको चोरी शिकारी रोकथाम गर्ने, सीमाको आपसी समस्या समाधानमा सूचना आदान–प्रदान गर्ने लगायतका विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077