Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चार वर्षपछि आईजीपी बन्न पौडेलले मिलाए बालुवाटारमा सेटिङ, रिक्त दुई पदमा सिंगल बढुवा

    चार वर्षपछि आईजीपी बन्न पौडेलले मिलाए बालुवाटारमा सेटिङ, रिक्त दुई पदमा सिंगल बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा जुनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाएको भन्दै सर्वोच्चमा मुद्दा पर्यो । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १६ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै सरकारकोविरुद्धमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले ‘नवनियुक्त आईजीपीले फुली लगाइसकेको र काम समेत शुरु गरिसकेको अवस्थामा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन’ भनेर जेठ १७ गतेका लागि पेशी तोकेको छ ।

    नेपाल प्रहरीको बढुवा प्रकरण सर्वोच्च अदालतसम्म पुगेको अवस्थामा सशस्त्र प्रहरी बल (एपीएफ) मा विवाद शुरु भएको छ । सरकारले आइतबार एकै दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपीमा बढुवा गरेको थियो । सोहि दिनदेखि शसस्त्र प्रहरीमा दुई एआईजी पद रिक्त बन्यो ।



    नेपाल प्रहरीमा पनि ठूलो संख्यामा एआईजी र डिआईजी पद रिक्त छ । तर, बढुवाको कुनै तयारी छैन । यता, दुई एआईजी पद रिक्त रहेको एपीएफमा भने सरकारले एक जनालाई मात्रै बढुवा गरेर ‘चोर बाटो’ भने खाली राखेको छ ।



    आईजीपी राजु अर्याल एआईजी बढुवामा देउवा सरकार सामु निरिह बनेका छन् । बढुवाका लागि आर्थिक सेटिङ नमिलेपछि पौडेललाई मात्र बढुवा गरिएको स्रोत बताउँछ ।

    बुधबार बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजी बढुवामा सिफारिस गरेको हो । त्यसअघि वैशाख १६ गते तत्कालीन आईजीपी पुष्पराम केसीले वैशाख १९ गतेबाट खाली हुने एआईजीको दबरन्दीमा बढुवाका लागि आवेदन दिन सूचना निकालेका थिए ।

    दुईवटा दरबन्दी खाली हुने भएपछि चारजना डीआईजीले आवेदन हालेपनि सिपी गौतम, वंशी दाहाल र किशोर प्रधानलाई पछाडि पार्दै वरीयतामा पहिलो नम्बरमा रहेका पौडेल मात्रै बढुवा सिफारिसमा परे । अन्य डिआईजीहरुले रकम खर्च नगरेका कारण बढुवा हुन नसकेको समेत स्रोतको दावी छ ।

    राजु अर्याल आईजीपी बनेपछि र अर्का एआईजी रामशरण पौडेलले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुवै दरबन्दी रिक्त बनेको थियो । सशस्त्रमा एआईजीबाट मात्र आईजिपीमा बढुवा गरिने व्यवस्था छ ।

    बढुवा सिफारिस गरिएका पौडेल, वर्तमान आईजीपी अर्याल र डीआईजी दाहालले एकै मितिमा सेवा प्रवेश गरेका हुन् । उनीहरू तीनैजनाले २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा थालेका थिए ।

    सिपी गौतमले भने २०५२ सालमा नेपाली सेनाबाट सेवा सुरु गरेका थिए । वर्तमान आईजीपी अर्यालले २०८३ वैशाख १८ गतेसमम्म आईजीपीको चार वर्षे कार्यकाल सम्हालेर अवकाश पाउने छन् । सशस्त्र प्रहरीमा एआईजीको पदावधि एक वर्ष थप हुन सक्ने व्यवस्थाका कारण पौडेल उनीपछि आईजीपी बन्ने लाइनमा छन् । उनी एआईजीमा बढुवा भए र एक वर्ष पदावधि थप भए ज्येष्ठतालाई कारण देखाएर आईजीपी बन्न सक्नेछन् ।

    आईजीपी हुनकै लागि पौडेल चलखेल गरेरै भएपनि ‘सिंगल’ बढुवा हुन सफल भए । एपीएफमा अझै पनि एक एआईजी पद रिक्त छ । अब बढुवा हुने एआईजी जुनियर हुने हुँदा अर्याल पछि आइजीपी बन्ने पालो पौडेलकै आउने निश्चित छ । चार वर्षपछि आईजीपी बनाउनका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पौडेललाई मात्रै एआईजीमा बढुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार