काठमाडौं । भोलि वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन सबै प्रकारका यातायात बन्द हुने भएका छन् ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि सबै प्रकारका यातायात बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालनमा आउने आयोगले जनाएको छ ।
निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालनमा रहनेछन् ।
चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।
पत्रकारहरुको हकमा सूचना बिभागबाट जारी गरिएको प्रेस पास देखाएर समाचार संकलनका लागि सबारी साधन चलाउन पाइने निर्वाचन आयोगले जनाएको छ।