Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी। दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्।

आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो।

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो।

आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ।

ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।

प्राय शवहरू दोस्रो तलामा भेटिएको बताइएको छ।

स्थानीय अधिकारी जोगीराम जैनका अनुसार प्रारम्भिक विवरणमा विद्युतीय अवरोधका कारण आगलागी भएको हो। उनले भवनमा उचित अग्नि सुरक्षा प्रमाणीकरण नभएको समेत बताए।

मृत्यु हुनेहरूमध्ये प्राय उक्त भवनमा रहेको सीसीटीभी बनाउने कम्पनीका कर्मचारीहरू हुन्। बीबीसी हिन्दीले आगलागीमा परेर मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने जनाएको छ। भवनको माथिल्लो तलाहरूमा उक्लन एक मात्र भर्‍याङ भएको र त्यहाँ कुनै आपत्कालीन द्वार नभएको जनाइएको छ।

भवनमा रहेका काठका सामग्रीलगायत सम्पूर्ण वस्तुहरू खरानीमा परिणत भएको बीबीसीका दिलनवाज पाशाले बताएका छन्। उनका अनुसार अहिले त्यहाँ कङ्क्रिटको भागहरू मात्र बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077