कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७, पौलाहा मसानघाट क्षेत्रबाट चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५.९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारैजनालाई पक्राउ गरेको हो ।
उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३, एयरपोर्ट बस्ने २२ वर्षीय दीपक भट्ट, १८ वर्षीय विवेक चौधरी, २५ वर्षीय किशोर राना र ३५ वर्षीय कालुराम राना छन् ।
से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४.३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११.५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।
मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाइ चारैजनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शंका लागि जाँच गर्दा फेला पारेको हो । लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारैजनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस