Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज

कैलाली । कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।

खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने, आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताइन्।

“डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ”, उनले भनिन्, “गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइनँ ।”

कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन् । सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ । खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रिमा चौधरीले बताए । “पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन”, उनले भने।

कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । कैलाली भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ कोरोनाको जोखिम छ । बुस्टर डोज लगाउन अति आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लालसिंह धामीले बताए। “सामान्य ज्वरो आउँदा केही हुँदैन, कसैलाई आएको भन्ने गुनासो छ । एक–दुई दिनमा निको हुन्छ”, उनले भने, “खोप अनिवार्य लगाउनु पर्छ ।”

कैलालीमा अहिलेसम्म एक लाख ७८ हजार ७०८ जनाको कोरोना परीक्षण गरिएको छ । यसमध्ये २४ हजार ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीमा ३५६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077