काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।
भ्रमणमा देशलाई उचित हुनेभन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए ।
अध्यक्ष नेपालले सरकारका परराष्ट्रमन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताए ।
पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि उनले बताए । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।