Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा बाढीले पुल बगायो, एउटामा क्षति

झापा । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ। झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ। पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

यता जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका मानिसहरु घर फर्किन थालेका छन्। गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

पानीको सतह घटेपछि गौरीगञ्ज–१ दास चौरीका १२ परिवार, भद्रपुर–८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार, बाह्रदशी–२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन्।

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी–२ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज–१ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी–४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज–१ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।

यता रेडक्रस झापाले गौरीगञ्ज–१ का विस्थापत परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ।रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077