खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।
माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनि झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् ।
नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन् ।
उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई हरेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।