काठमाडौं । वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान नेकपा माओवादी केन्द्रले छाडेको छ ।
प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्छन् ।
तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो ।
माओवादी केन्द्रको यही अडान र प्रचलित व्यवस्थाकै निरन्तरताको पक्षमा रहेको सत्तारुढ नेपाली कांग्रेसको अडानका कारण नागरिकता विधेयक अगाडि बढ्न सकिरहेको थिएन ।
तर माओवादी केन्द्र आफ्नो पूर्व अडानबाट पछि हटेपछि आज प्रतिनिधि सभा बैठकबाट फास्ट ट्र्याक विधिबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।