काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहने भएको छ । अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शुक्रबार देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।