काठमाडौं । जनता समाजवादी पार्टी नेपालको तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ ।
अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डलगायतका प्रस्ताव गरेका छन् ।
सो प्रस्तावमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा पाँच दलीय गठबन्धन वा जसपा–लोसपा गठबन्धन गरेर जाने भन्ने बारेमा पनि नेताहरुले धारणा राखिरहेका छन् ।
स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनबाट जसपाभन्दा कांग्रेसले बढी फाइदा लिएको र संघ तथा प्रदेशको चुनावमा पनि त्यस्तै हुने आशंका व्यक्त भइरहेको राजनीतिक समितिका सदस्य अमरेशनारायण झाले बताए ।
विगतको चुनावमा लोसपा–जसपा ९संघीय समाजवादी फोरम र राजपा० गठबन्धन भएकै कारण दुवै दल प्रदेशदेखि संघसम्म शक्तिशाली बनेको भन्दै उनीहरुले पाँच दलीय गठबन्धनबाट त्यो सम्भावना नदेखिएको जिकिर गरिरहेका छन् ।