Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोटरसाइकलमा फल्स बटम बनाई तस्करी गर्ने तीन जना २८१० एम्पुल लागूऔषधसहित पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अबैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा नियन्त्रित लागूऔषधको अबैध कारोवार भईरहेको भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले दुई हजार ८१० एम्पुल अवैध लागूऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम बरामद गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१८ सैबुका ३८ वर्षीय नविन श्रेष्ठ, सिभिल इन्जिनियर समेत रहेका धरान उपमहानगरपालिका–१०, सुनसरीका का ४३ वर्षीय ध्रुव लिम्बु र विन्दाबासीनी गाउँपालिका–४ पर्साका जमुना साह तेली रहेका छन् ।

ब्यूरो प्रमुख एसएसपी विकासराज खनालका अनुसार श्रेष्ठलाई भदौ २ गते साँझ ललितपुर महानगरपालिका–२ झम्सिखेलबाट पक्राउ गरिएको हो । उनको साथबाट अबैध लागूऔषध बुप्रेनोर्फिन २४३ एम्पुल, फेनारगन २४३ एम्पुल र डाइजेपाम २४३ एम्पुल तथा दुई हजार रुपैयाँ नगद बरामद भएको छ ।

श्रेष्ठ कर्तव्य ज्यान मुद्धामा आठ वर्ष चार महिना कैद भुक्तान गरि छुटेको व्यक्ति भएको पनि खुलेको छ । श्रेष्ठसहितका केही व्यक्तिहरुले २०६४।०६।१७ गते आठ वर्षीय नाबालक धिरज अधिकारीलाई बा१ज २३०३ नम्बरको ट्याक्सीमा अपहरण गरी कर्तव्य गरी मारेकाे खुलेकाे थियाे ।

त्यसैगरी लिम्बुलाई काठमाडौं महानगरपालिका–३० कालोपुलबाट भदौ ३ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनको साथबाट प्रहरीले अबैध लागूऔषध बुप्रेनोर्फिन ५६० एम्पुल, फेनारगन ५८४ एम्पुल र डाइजेपाम ७३७ एम्पुल बरामद गरेको छ । होस्टलमा बस्दै आएका लिम्बु पक्राउ परेपछि उनकै बयानको आधारमा ब्यूरोका प्रहरीले साहलाई पक्राउ गरेको थियो ।

सोही होस्टलबाट पक्राउ परेका जमुना साह तेलीको काठमाडौं महानगरपालिका–१३ वाफलमा रहेको कोठाबाट अबैध लागूऔषध बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम १०२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानमा साहले आफूले चढ्दै आएको मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाई अबैध लागूऔषध भारतबाट नेपाल भित्र्याउने गर्दै आएको खुलेको ब्यूरो प्रमुख एसएसपी खनालले बताए । जमुना साह तेलीले चढ्दै आएको ना ४३ प ६६९३ को टिभिएसको मोटरसाइकलको ट्याङ्कीको तल्लो भागलाई काटेर खण्ड(खण्ड बनाई भित्रीफल्स बटम बनाएको अनुसन्धानमा खुलेको छ ।

साहले फल्स बटमका कारण फ्युल ट्याङ्की सानो भएकोले चाडै फ्युल सकिने हुँदा पानीको प्लास्टिक बोतलमा पेट्रोल हाली झोलामा बोक्ने गरेको पनि खुलेको छ । उनले नियन्त्रित लागूऔषध काठमाडौंसम्म्म ल्याए बापत एक पटकमा पचास हजार लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ब्यूरोले जनाएको छ ।

जमुना साह तेलीले काठमाडौं ल्याएको नियन्त्रित लागूऔषध एम्पुलहरु ध्रुब लिम्बुलाई बिक्री गर्न दिने र ध्रुब लिम्बुले नबिन श्रेष्ठलाई सो लागूऔषध बिक्री गर्ने गरेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु तीन जनालाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको ब्यूरो प्रमुख एसएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077