Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकल बहुमतका साथ आफ्नै नेतृत्वको सरकार बनाउने एमालेको चुनावी योजना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एकल बहुमतमा आफ्नो नेतृत्वको सरकार बनाउने एजेण्डासहित चुनावमा होमिने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको ध्यान अब निर्वाचन केन्द्रित भएर जाने निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी अब चुनावमा होमिसकेका छौँ। उम्मेदवार चयनको विधि र मापदण्ड केन्द्रीय कमिटीले निर्धारण गर्छ। त्यो तल्लो तहसम्म पठाएपछि त्यही अनुसार सिफारिस हुन्छ। चुनावको रणनीतिबारे त्यहीँ उल्लेख छ। एमालेको अहिलेको अवस्था, गठबन्धनबारे धारणा र एमालेको एकल बहुमतको सरकार नै हाम्रा मुख्य एजेण्डा हुन्छन्।’

मंगलबार बसेको बैठकले केन्द्रीय सल्लाहकार परिषद्‌मा तीन जनालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, विभिन्न दलबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोक्ने निर्णय समेत भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। आजको बैठकमा ६ वटा प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति कस्तो छ भन्नेबारे रिपोर्टिङ गरेको उनले बताए।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा १३ जना स्थायी समिति सदस्यहरूले आफ्नो कुरा राखेका छन्। घनश्याम भुसालसहित १३ जनाले अध्यक्षको प्रतिवेदनमा उल्लेख हुनुपर्ने भनेर आफ्नो भनाइ राखेको गुरुङले बताए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुने र त्यसको मुल मुल विषय मंगलबारको स्थायी कमिटी बैठकमा पेस भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077