काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेको छ ।
कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
आज बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।