काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।
आज सूचना निकालेर आयोगले पर्यवेक्षण अनुमति लिन निवेदन दिन आह्वान गरेको हो। पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनुपर्नेछ ।
निवेदन दिँदा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्नेछ ।
पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार गरेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रति, पहिले निर्वाचन पर्यवेक्षण गरेको भए निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण पनि पेस गर्न आयोगले भनेको छ ।