Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हत्यापछि फरार १६ वर्षपछि जेल चलान, कतार प्रहरीको सहयोगमा पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगमा फरार एक जनालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो।

साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए।

प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो। जिल्ला अदालतको आदोअनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077