काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ ।
जसकारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाकाअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
राति देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।