Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत पुर्‍याइएका नुवाकोट, रसुवा र कैलालीका १६ बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ।

भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए।

उनका अनुसार, ‘रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्‍याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।’

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांश १२ वर्षमुनिका छन्। बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ। अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077